बागलुङ । काठेखोला गाउँपालिका–४ तङ्ग्राम गाउँ जोड्ने सडकको ‘ट्रयाक’ खुलेको २८ वर्षपछि अन्ततः कालोपत्र गर्न थालिएको छ। काठेखोला गाउँपालिका–२ स्थित अछेतेदेखि तङ्ग्राम जोड्ने करिब ६ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्र गर्ने काम सुरु भएको हो।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु २ करोड ८९ लाख ८४ हजार लागतमा सडक कालोपत्रको काम अघि बढाइएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। इन्जिनियर अनिल बर्देवाका अनुसार बहुवर्षे योजनाअन्तर्गत सडक स्तरोन्नति अगाडि बढाइएको हो र यस वर्ष करिब २ किलोमिटर खण्ड कालोपत्र गरिनेछ।
उनका अनुसार गत वर्ष असारमा आरएस हिल जेभीसँग सडक स्तरोन्नति तथा कालोपत्रका लागि सम्झौता गरिएको थियो। हाल सडक चौडा बनाउने, पर्खाल लगाउने र नाली निर्माणको काम तीव्र गतिमा भइरहेको छ।
इन्जिनियर बर्देवाले भने, “निर्माण कम्पनीले धमाधम काम गरिरहेको छ। हालसम्म करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ। सीमित बजेटका कारण यस वर्ष १.७ किलोमिटरमध्ये करिब ८०० मिटर खण्डमा प्रि–मिक्स प्रविधिको कालोपत्र हुनेछ।”
२८ वर्षसम्म सडक स्तरोन्नति नहुँदा बर्खामा हिलो र हिउँदमा धुलोले सास्ती खेप्दै आएका स्थानीयले अहिले राहतको अनुभूति गर्न थालेका छन्। स्थानीय प्रेम थापाले सडक सुधारले यात्रा र सामान ढुवानी सहज हुने भन्दै खुशी व्यक्त गरे।
गाउँपालिकाका अध्यक्ष राजु थापाले लामो समयदेखि समस्या भोग्दै आएका नागरिकलाई राहत दिन प्रदेश सरकारसँगको सहकार्यमा सडक कालोपत्र सुरु गरिएको बताए। उनका अनुसार यो सडकले काठेखोलाका वडा नं २, ३ र ४ का बासिन्दालाई जिल्ला सदरमुकाम बागलुङ बजारसँग प्रत्यक्ष जोड्नेछ।
उनले भने, “गाउँपालिकाको बजेट सीमित भएकाले सबै सडक एकैपटक सुधार गर्न सकिएको थिएन। प्रदेश सरकारसँग निरन्तर पहलपछि बजेट परेको हो। आगामी वर्षसम्म सम्पूर्ण सडक कालोपत्र पूरा गर्ने लक्ष्य छ।”
