प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले दैलेखस्थित पेट्रोलियम उत्खनन परियोजनालाई प्रभावकारी हुने गरी सडकको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उक्त परियोजनालाई सफलतापूर्वक सम्पन्न गराउन पनि सरकारले सुर्खेत–दैलेख सडकखण्ड व्यवस्थित बनाउन ढिलाई गर्न नहुने स्पष्ट पार्नुभयो । सांसद थापाले दैलेख जिल्ला अस्पतालको व्यवस्थापनमा सुधार गर्न पनि सरकारलाई सचेत गराउनु भयो । उक्त अस्पतालको प्रभावकारी सञ्चालन गर्ने काममा सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने उहाँको भनाई थियो ।
प्रमुख सचेतक थापाले भन्नुभयो,‘कर्णाली प्रदेशको जीवन रेखाको रुपमा रहेको सुर्खेत–दैलेख सडक खण्ड आज पनि साँघुरो र जोखिमपूर्ण अवस्थामा छ । दैलेखमा संचालन भईरहेको पेट्रोलियम उत्खनन परियोजनलाई प्रभावकारी र सफल बनाउन सडक फराकिलो बनाउन तत्काल आवश्यक देखिन्छ । म यस विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । त्यसैगरी दैलेख जिल्ला अस्पताल अस्तव्यस्त अवस्थामा छ । त्यसको प्रभावकारी संचालनका लागि आवश्यक काम गरियोस् ।’
प्रमुख सचेतक थापाले सरकारले स्वास्थ्य चौकीहरुको सुधारमा पनि ध्यान दिनुपर्ने बताउनु भयो ।
