फागुन २१ को चुनावमा बालेन शाहको प्रवक्ताको शैलीमा उत्रिएका रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकार बनेको डेढ महिनामै उनैले नेतृत्व गरेको शासनशैलीमाथि प्रश्न उठाएका छन् । दुई दिनअघि प्रतिनिधि सभाका अर्थमन्त्री स्वर्णिम वाग्लेको कार्यशैलीमाथि प्रश्न उठाएका सिंहले आफ्नो आक्रोश अब प्रधानमन्त्री शाहप्रति पनि सोझ्याएका हुन् । हिमालय टिभीको यक्ष प्रश्न कार्यक्रममा निमेष बन्जाडेलाई दिएको अन्तर्वार्तामा सिंहले नेपाल पाकिस्तानी मोडलको प्रजातन्त्रको बाटोमा जान लागेको संकेत समेत गरेका छन् । संसद् छल्ने प्रधानमन्त्री बालेन्द्र शाहको शैलीप्रति इंगित गर्दै उनले पाकिस्तानी मोडलको प्रजातन्त्रको सम्झना गरे । पछिल्लो समय व्यापारीहरू समातिने र छुट्ने क्रमलाई यहाँले कसरी विश्लेषण गर्नुहुन्छ ? यसको आर्थिक असर के कस्तो देख्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘जसरी व्यापारीहरूलाई थुनिन्छ । विधिको शासन र कानुनी प्रक्रिया नै नपुर्याई थुनिन्छ र भोलिपल्टै छुटिहाल्छन् । यसले गर्दा के भएको छ भने, म एकदम दाबीका साथ भन्दै छु— नेपालको अर्बौं रुपैयाँ विदेश गइसक्यो । हामी ‘पुलिस स्टेट’ बन्नु हुँदैन, हामी ‘डेमोक्रेटिक स्टेट’ बन्नुपर्छ । पाकिस्तानमा कहिल्यै पनि डेमोक्रेसी स्टेबलाइज भएन, छैन र हुँदैन पनि । किनभने, उहाँहरूले संसद्लाई कहिल्यै बलियो बन्न दिनुभएन ।’ यहाँ पनि त्यस्तै हुन खोज्दै छ कि क्या हो अब ? भन्ने प्रश्नमा अमरशेको जवाफ छ- अहिलेको परिस्थिति हेर्दाखेरि त्यो आशंकालाई किनार गर्न सकिँदैन । उनले अहिलेको सरकार पनि पूर्ण कार्यकाल जान नसक्ने संकेत गरे । ‘नेपालको इतिहासमा दुई तिहाईको कुनै सरकार सफल भएको छैन । बीपीले दुई तिहाइको सरकार बनाए १६ महिनामा गयो । गिरिजाप्रसादको सरकार २०४८ मा गयो । २०५६ मा बहुमतको सरकार गयो । २०७४ समा नेकपाको सरकार बन्यो चलेन,’ उनले भने, ‘त्यसकारण हाम्रो देशको राजनीतिक अभिसप्त के छ भने बहुमत वा दुइतिहाइ आएपछि मात लाग्छ इतिहासले त्यही बताउँछ ।’ उनले संविधान र कानुनको परिधि र परम्परामा सबै बस्नुपर्ने उल्लेख गरे । उनले नेपालको भारत र चीनसँगको सम्बन्ध पनि खल्बलिएको दाबी गरे । यी दुई देशसँगको सम्बन्ध केपी ओलीको सरकारको पाला भन्दा बिग्रिएको उनको दाबी छ । ‘म भारतको प्रवक्ता पनि होइन बालेनको प्रवक्ता होइन । भूराजनीतिक सम्बन्ध खलबलिएको छ । केपी ओली सरकार भन्दा बढी भूराजनीतिक खल्बलियो । चीनसँगको सम्बन्ध पनि खल्बलिएको छ । अमेरिकोबारे म भन्न सक्दिनँ । ‘ सांसद सिंहले अहिलेको सरकारलाई ‘तथाकथित’ को संज्ञा पनि दिए । उनले मधेशको पीडाबारे सरकारले केही नगरेको भन्दै आक्रोश व्यक्त गरे । ‘
