काभ्रे जिल्लाको बुचाकोट क्षेत्रमा शुक्रबार भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको हो। दुर्घटनापछि बस बिपी राजमार्गबाट करिब २ सय मिटर तल खसेको बताइएको छ।
दुर्घटनामा घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
प्रारम्भिक जानकारीअनुसार बसमा २५ देखि ३० जना यात्रु सवार रहेका थिए। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र प्रहरी तथा उद्धार टोली घटनास्थलमा खटिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।
मृतकहरूको पहिचान खुल्ने क्रम जारी रहेको छ। दुर्घटनापछि स्थानीयवासी, प्रहरी र सुरक्षाकर्मीले उद्धार कार्य सञ्चालन गरेका थिए।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।
