काठमाडौँ । काठमाडौँ उपत्यकामा बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ५९८ चालक ट्राफिक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा १७ लाख ८६ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेर सवारी चलाउने १९९ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १६७ जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १२० जना तथा तीव्र गतिमा सवारी चलाउने १६८ जनालाई कारबाही गरिएको हो।
त्यस्तै लेन अनुशासन पालना नगर्ने १२० जना, निषेधित क्षेत्रमा हर्न बजाउने १२६ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १५६ जना तथा एकतर्फी सडकमा सवारी चलाउने १८६ जना चालक पनि कारबाहीमा परेका छन्।
यसका अतिरिक्त अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ३५६ जनामाथि समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सडक सुरक्षा, दुर्घटना न्यूनीकरण तथा सवारी अनुशासन कायम गर्न नियमित निगरानी र कारबाहीलाई निरन्तरता दिइएको जनाएको छ। साथै सबै चालकलाई ट्राफिक नियमको पालना गरी सुरक्षित यात्रामा सहयोग गर्न आग्रह गरिएको छ।
