टोकियो । मध्यपूर्व युद्धका कारण बढ्दो मुद्रास्फीति, महँगो ऊर्जा आयात र कमजोर येनमाथिको दबाबबीच बैंक अफ जापान (बीओजे) ले आफ्नो नीतिगत ब्याजदर २५ आधार विन्दुले बढाएर १ प्रतिशत पुर्याएको छ। यो सन् १९९५ पछिकै उच्च स्तर हो।
विश्वको चौथो ठूलो अर्थतन्त्र जापानले मुद्रास्फीति नियन्त्रण र मुद्रा स्थिरता कायम गर्ने उद्देश्यले मौद्रिक नीति थप कडा बनाएको हो। मध्यपूर्व द्वन्द्वका कारण तेलको मूल्य बढ्दा ऊर्जा आयातमा निर्भर जापानमा महँगी थप चर्किएको छ।
युद्धका कारण कमजोर बनेको येनलाई स्थिर राख्न जापान सरकारले हालै ठूलो रकम खर्च गरेको थियो। अर्थशास्त्रीहरूले ब्याजदर वृद्धिलाई येनको थप अवमूल्यन रोक्ने र मुद्रास्फीतिमाथि नियन्त्रण कायम गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन्।
