काठमाडौं
दिपक न्यौपाने
बेलकोटगढी नगरपालिकामा नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ७ वटा एम्बुलेन्स खरिद गर्ने निर्णय भएको लामो समय बितिसक्दा पनि योजना पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन ।
नगरपालिकाका मेयर जगतबहादुर गुरुङले पदभार ग्रहण गरेपछि बसेको पहिलो नगर कार्यपालिका बैठकले ७ वटा एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको थियो । नगरपालिकामा १३ वटा वडा रहेकाले स्वास्थ्य सेवा नागरिकको घरदैलोसम्म सहज रूपमा पुर्याउने उद्देश्यले उक्त निर्णय गरिएको बताइएको थियो।
योजनाअनुसार एक वटा एम्बुलेन्स नगरपालिकामा राख्ने र बाँकी ६ वटा विभिन्न क्षेत्रका नागरिकलाई सेवा दिने भनिएको थियो। विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका, अशक्त तथा असहाय नागरिकलाई स्वास्थ्य संस्थासम्म पुर्याउन एम्बुलेन्स सेवा प्रभावकारी बनाउने उद्देश्य राखिएको थियो।
तर निर्णय भएको करिब डेढ वर्षपछि २०८० मंसिरमा पहिलो चरणमा ३ वटा एम्बुलेन्स मात्र सञ्चालनमा ल्याइएको छ । ती एम्बुलेन्स वडा नं. ३ को कुमारी स्वास्थ्य चौकी, वडा नं. ६ को दुईपिपल स्वास्थ्य चौकी र वडा नं. ११ को बेलकोट स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको थियो । ती तीन एम्बुलेन्स खरिदमा कुल ५९ लाख ९८ हजार ५०० रुपैयाँ खर्च भएको उल्लेख छ। प्रतिएम्बुलेन्स करिब १८ लाख ७५ हजार ७१८ रुपैयाँ खरिद मूल्य रहेको बताइएको थियो।
त्यसैगरी, पूर्ण अपाङ्गता भएका बिरामी तथा सुत्केरी महिलालाई स्वास्थ्य चौकीको सिफारिसमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा समेत गरिएको थियो ।
स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा एम्बुलेन्सको प्रत्यक्ष सम्बन्ध नागरिकको जीवनसँग हुन्छ। त्यसैले घोषणा र निर्णयभन्दा पनि योजना पूर्ण रूपमा कार्यान्वयन कहिले हुन्छ ? भन्ने प्रश्न अहिले बेलकोटगढीका नागरिकले उठाइरहेका छन्।
नगरपालिकाले ७ वटा एम्बुलेन्स ल्याउने निर्णय गरेको भए पनि सार्वजनिक रूपमा स्पष्ट देखिएको तथ्यअनुसार पहिलो चरणमा ३ वटा मात्रै सञ्चालनमा आएका छन्। त्यसैले बाँकी ४ वटा एम्बुलेन्स कहिले आउँछन् ? भन्ने प्रश्नको जवाफ नगरपालिकाले दिनुपर्ने देखिन्छ।
जनताको माग पनि ठूलो होइन—निर्णय भएको योजना पूरा गरियोस्, एम्बुलेन्स सेवा सहज र प्रभावकारी बनोस् र सार्वजनिक रकम कहाँ र कसरी खर्च भयो भन्ने कुरा पारदर्शी रूपमा जानकारी दिइयोस्।
अब बेलकोटगढीका नागरिकको एउटै प्रश्न छ—
“७ वटा एम्बुलेन्सको कुरा गरिएको थियो, ३ वटा मात्रै आए । बाँकी ४ वटा कहिले आउछ ?
