प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई देशभरका उत्पीडित र पछाडि पारिएका समुदायको सशक्त आवाज बन्न आह्वान गरेका छन्। प्रधानमन्त्री कार्यालयमा आज आयोजित छलफल कार्यक्रममा उनले समानुपातिक सांसदहरूको भूमिकालाई समुदाय र राष्ट्रिय मूलधारबीचको सेतुको रूपमा व्याख्या गरे।
प्रधानमन्त्री शाहले सांसदहरूलाई आफ्ना क्लस्टरका मुद्दालाई प्राथमिकतामा राख्दै राष्ट्रिय कानुन निर्माण र समग्र देशको विकासमा केन्द्रित हुन आग्रह गरे। उनले भने, “प्रत्यक्ष निर्वाचित सांसदहरू एउटा क्षेत्रमा सीमित हुन्छन्, तर समानुपातिक सांसदहरू देशभरका आफ्ना समुदायका लागि आशाको केन्द्र हुन्।”
त्यसैगरी, उनले आगामी पाँच वर्षसम्म निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै समस्या समाधानमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिने बताए। छलफलमा उठेका विषयहरूमा आवश्यक फलोअप गरिने र सुझाव तथा समन्वयका लागि डिजिटल माध्यममार्फत सधैं खुला रहने पनि उनले उल्लेख गरे।
