ललितपुर महानगरपालिका–४ बागडोलमा भएको ठूलो परिमाणको सुन–चाँदीका गरगहना चोरी प्रकरणमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चोरीमा संलग्न अमन देउला र चोरीका गरगहना खरिद गरेको आरोप लागेका स्वपन चक्रवर्ती रहेका छन्।
गत चैत २६ गते दिउँसो करिब ७९ लाख १२ हजार ५ सय २ रुपैयाँ बराबरका सुन तथा चाँदीका गरगहना चोरी भएको प्रहरीले जनाएको छ। उक्त घटना पछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले अनुसन्धान तीव्र पारेको थियो।
प्रहरी अनुसन्धानका क्रममा संलग्न व्यक्तिहरू पहिचान भएपछि अमन देउला र स्वपन चक्रवर्तीलाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट चोरी गरिएका केही सुन–चाँदीका गरगहना समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको र चोरी घटनाको सम्पूर्ण संलग्नता तथा अन्य सम्भावित व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
