प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा घोषणा गरेका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीसँगको करिब ५ महिनाको यात्रा टुंग्याएको घोषणा गरेका हुन्। उनले यस अवधिमा मार्गदर्शन गर्ने नेताहरू, सहकार्य गर्ने सहकर्मीहरू तथा कर्मचारीहरूप्रति आभार व्यक्त गरेका छन्।
किरातीले आफ्नो फेसबुक स्टाटसमा लेख्दै पार्टीमा बिताएको समयलाई “अमूल्य अनुभव” को रूपमा लिएको बताएका छन्। उनले संगठनसँगको औपचारिक सम्बन्ध समाप्त भए पनि आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध कायम रहने विश्वास व्यक्त गरेका छन्।
राजनीतिबाट भने उनी पूर्ण रूपमा टाढा नहुने संकेत गर्दै देश र जनताको सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन्। उनले जनताको भरोसा र सहिदहरूको अधुरो सपना पूरा गर्ने लक्ष्यसहित अघि बढ्ने बताएका छन्।
यसअघि नै उनले पार्टीमा राजीनामा बुझाइसकेका थिए, तर औपचारिक रूपमा सार्वजनिक रूपमा प्रतिक्रिया दिएका थिएनन्। अहिले भने उनले स्पष्ट रूपमा पार्टी परित्यागको घोषणा गरेका हुन्।
