प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित आफ्नै कार्यालयमा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग करिब साढे पाँच घण्टा लामो छलफल गर्नुभएको छ। संघ र प्रदेशबीचको समन्वय, विकास निर्माण तथा नागरिकका अपेक्षा सम्बोधन गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको जनाइएको छ।
छलफलपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रधानमन्त्रीले अत्यन्त धैर्यतापूर्वक प्रदेशहरूको धारणा सुन्नुभएको प्रतिक्रिया दिनुभयो। उहाँका अनुसार बैठकमा प्रदेशहरूले भोगिरहेका चुनौती, स्रोत व्यवस्थापन र कार्यान्वयनका समस्याबारे खुलेर कुरा भएको थियो।
प्रधानमन्त्री शाहले छलफलका क्रममा नागरिकका अपेक्षा पूरा गर्न संघ र प्रदेश सरकारबीच अझ प्रभावकारी सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले विकास योजनाहरूलाई परिणाममुखी बनाउँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको थियो।
बैठकले संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउने दिशामा सहकार्य बढाउने संकेत दिएको सहभागीहरूको भनाइ छ।
