आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईविरुद्धको महत्वपूर्ण खेलमा नेपालले आफ्नो प्लेइङ ११ मा ब्याटिङ र बलिङ दुवैतर्फ ठूलो परिवर्तन गरेको छ। टोलीको प्रदर्शनमा सुधार ल्याउने लक्ष्यका साथ मुख्य प्रशिक्षक र छनोट समितिले नियमित खेलाडीहरूलाई विश्राम दिँदै नयाँ र अनुभवी अनुहारलाई मौका दिएका हुन्।
नेपालले यसपटक आफ्ना दुवै नियमित ओपनर कुशल भुर्तेल र आसिफ शेखलाई बाहिर राख्ने साहसिक निर्णय गरेको छ। उनीहरूको स्थानमा अनुभवी विकेटकिपर ब्याटर विनोद भण्डारी र युवा खेलाडी अर्जुन कुमाललाई ओपनिङको जिम्मेवारी सुम्पिएको छ। लामो समयदेखि ओपनिङ जोडी जम्न नसकेको आलोचना भइरहेका बेला नेपालले यो नयाँ प्रयोग गरेको हो।
बलिङतर्फ पनि नेपालले दुईवटा परिवर्तन गरेको छ। अनुभवी तीव्र गतिका बलर करण केसी र अलराउन्डर बसिर अहमदलाई यस खेलका लागि विश्राम दिइएको छ। उनीहरूको स्थानमा तीव्र गतिका बलर नन्दन यादव र विशेषज्ञ स्पिनर ललित राजवंशीले टोलीमा पुनरागमन गरेका छन्। ललितको पुनरागमनले स्पिन बलिङ आक्रामक हुने अपेक्षा गरिएको छ भने नन्दनलाई तीव्र गतिको बलिङमा आफ्नो क्षमता प्रमाणित गर्ने अवसर मिलेको छ।
यूएईविरुद्धको यो खेल लिग-२ को अंक तालिकामा नेपालको स्थान सुरक्षित गर्न निर्णायक मानिएको छ। ब्याटिङ र बलिङ दुवै क्षेत्रमा गरिएको यो ‘सर्जिकल’ परिवर्तनले मैदानमा कस्तो नतिजा ल्याउँछ भन्नेमा सबैको चासो रहेको छ।
