काठमाडौं — नेपाल पानी उद्योग महासंघ ले उत्पादन लागतमा करिब ४० प्रतिशतसम्म वृद्धि भएको जनाउँदै आफ्ना सदस्य उद्योगहरूलाई पानीको मूल्य समायोजन गर्न आग्रह गरेको छ। बढ्दो लागतले उद्योग सञ्चालनमा दबाब सिर्जना गरेको महासंघले जनाएको छ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय द्वन्द्वका कारण आपूर्ति श्रृंखला प्रभावित हुनुका साथै पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा कच्चा पदार्थ र ढुवानी खर्च उल्लेखनीय रूपमा बढेको छ। यसले प्रत्यक्ष रूपमा उत्पादन लागतमा असर पारेको बताइएको छ।
उद्योगहरूले हालको अवस्थामा मूल्य समायोजन नगरे सञ्चालनमा कठिनाइ आउने भन्दै महासंघले आवश्यक कदम चाल्न सदस्यहरूलाई सुझाव दिएको हो। साथै, उपभोक्तामा पर्ने प्रभावलाई समेत ध्यानमा राख्दै सन्तुलित निर्णय लिनुपर्नेमा जोड दिइएको छ।
यसैबीच महासंघले नेपाल सरकार सँग उद्योगमैत्री नीति ल्याउन, कर तथा ढुवानी लागत नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गर्न आग्रह गरेको छ। महासंघले यस्ता कदमले उद्योग क्षेत्रलाई स्थिरता दिनुका साथै उपभोक्तालाई पनि दीर्घकालीन रूपमा राहत पुग्ने विश्वास व्यक्त गरेको छ।
