नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ जना विद्युत् ग्राहकलाई कालोसूचीमा राखेको जनाएको छ। केन्द्रका अनुसार ती ग्राहकबाट रु एक करोड चार लाख १७ हजार ३८१ बक्यौता उठाउन बाँकी रहेको छ र उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ।
बक्यौता नतिर्ने ग्राहकविरुद्ध कडाइ गर्दै केन्द्रले यसै आर्थिक वर्षमा १ हजार ८२६ ग्राहकको विद्युत् लाइन काटिसकेको छ। निरन्तर चेतावनी दिँदासमेत भुक्तानी नगर्ने ग्राहकहरूलाई लक्षित गर्दै यस्तो कदम चालिएको प्राधिकरणले जनाएको छ।
हाल केन्द्रअन्तर्गत ७४ हजार ८७६ ग्राहकबाट कुल रु ४९ करोड चार लाख १० हजार ४३७ बक्यौता उठाउन बाँकी रहेको छ। प्राधिकरणले बक्यौता असुलीलाई प्राथमिकतामा राख्दै आवश्यक परे थप कडाइ गरिने जनाएको छ।
प्राधिकरणले समयमै महसुल भुक्तानी गर्न सबै ग्राहकलाई आग्रह गर्दै सेवा अवरुद्ध हुन नदिन सचेत रहन अपिल गरेको छ।
