यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका साधनमा विद्यार्थीहरूलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुट अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ।
हालै विभागले यातायात व्यवसायी तथा सरोकारवाला निकायहरूलाई परिपत्र जारी गर्दै उक्त सहुलियतलाई कडाइका साथ लागू गर्न ताकेता गरेको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायात सहकारी संस्था लिमिटेडलाई समेत पत्राचार गर्दै विद्यार्थीहरूको कानुनी अधिकार सुनिश्चित गर्न विभागले आग्रह गरेको छ।
इन्धनको मूल्य वृद्धि भएपछि केही सार्वजनिक सवारीसाधनले विद्यार्थीलाई छुट नदिएको गुनासो बढ्दै गएको छ। हेलो सरकार र गुनासो पेटिकामा समेत विद्यार्थीहरूले तोकिएको ४५ प्रतिशत छुट नपाएको भन्दै लगातार उजुरी आइरहेको विभागले जनाएको छ।
