काभ्रेमा डेरी उद्योगकै अगुवाइमा ‘मोही अभियान’ सुरु भएको छ । बनेपा–७ धनेश्वरस्थित हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टरले नेपाल डेरी एसोसिएसनको अभियानलाई व्यवहारमा उतार्दै शुक्रबार धुलिखेलमा एक कार्यक्रमका बीच यसको औपचारिक सुरुवात गरेको हो ।
डेरीका प्रबन्ध निर्देशक तथा एसोसिएसनका केन्द्रीय सदस्य रबिन्द्र हुमागाईंले प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई मोही हस्तान्तरण गर्दै अभियानको थालनी गरे । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईं, विभिन्न सरकारी निकायका प्रमुख, कर्मचारी तथा सञ्चारकर्मीको उपस्थिति थियो ।
कार्यक्रममा सहभागीहरूलाई मोही वितरण गर्दै वरिष्ठ सञ्चारकर्मी मधुसुदन गुरागाईंले मोही सेवनलाई दैनिक संस्कारका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । “दूधका परिकारको प्रयोग बढाउन यस्तो अभियान निकै महत्वपूर्ण छ,” उनले भने ।
प्रमुख जिल्ला अधिकारी अधिकारीले स्वदेशी दुग्ध उत्पादनको खपत बढाउन यस्ता अभियान प्रभावकारी हुने बताए । “यसले किसानलाई प्रत्यक्ष फाइदा पुग्छ,” उनले उल्लेख गरे ।
हिमालयन डेरीले ‘दर्शन’ ब्रान्डमार्फत पास्चराइज्ड दूध, दही र ‘राजा दही’ उत्पादन गर्दै आएको छ । गत वर्षदेखि मोही पनि बजारमा ल्याएको डेरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुमति लिएर दैनिक करिब एक हजार लिटर उत्पादन गरिरहेको जनाएको छ ।
हाल मोही एक लिटरको ८० रुपैयाँ र आधा लिटरको ४० रुपैयाँमा उपलब्ध छ । ठूला कार्यक्रमका लागि बल्क प्याकसमेत उपलब्ध गराइँदै आएको छ । डेरीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रममा मोही वितरण गर्दै अभियानलाई थप विस्तार गरिरहेको जनाएको छ ।
‘मोहीको विश्वास, स्वास्थ्यको विकास’ भन्ने नारासहित दोस्रो राष्ट्रिय मोही दिवस २०८२ चैत २८ गते देशभर मनाइएको थियो । पछिल्लो समय स्थानीय तहहरूले पनि मोहीलाई ब्रान्डिङ गर्न थालेका छन् ।
एसोसिएसनका अनुसार मोहीमा करिब १ प्रतिशत फ्याट र ५ प्रतिशत एसएनएफ हुन्छ । क्याल्सियम, प्रोटिन र एमिनो एसिडयुक्त मोहीले पाचन सुधार, हड्डी मजबुत बनाउन र शरीरलाई तन्दुरुस्त राख्न मद्दत गर्छ । गर्मी मौसमका लागि यो प्राकृतिक स्वास्थ्यवर्द्धक पेय मानिन्छ ।
यद्यपि, ग्यास्ट्रिक समस्या भएका व्यक्तिले अत्यधिक अमिलो मोही सेवन नगर्न चिकित्सकको सुझाव छ । सामान्यतया बिहान वा दिउँसो मोही पिउनु लाभदायक मानिन्छ ।
नेपाल डेरी एसोसिएसनले विदेशी तथा कृत्रिम पेयको विकल्पमा स्वदेशी मोही प्रयोग गर्न आग्रह गरेको छ । सरकारी बैठक, विद्यालय क्यान्टिन र पारिवारिक कार्यक्रममा यसको प्रयोग बढाए किसानलाई उचित मूल्य मिल्ने र आयात घट्ने विश्वास गरिएको छ ।
एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालका अनुसार अब डेरी उद्योगहरू स्वयं अभियानमा सक्रिय हुन थालेका छन् । बागमती प्रदेश अध्यक्ष टिकाप्रसाद घिमिरेका अनुसार हाल देशभर दैनिक करिब २५ देखि ३० हजार लिटर मोही उत्पादन भइरहेको छ । काभ्रेमा व्यावसायिक रूपमा मोही उत्पादन सुरु गर्नु सकारात्मक कदम भएको उनले बताए ।
