काठमाडौं उपत्यका विकास प्राधिकरण (KVDA) ले नदी किनारका अव्यवस्थित बस्ती व्यवस्थापन गर्ने प्रक्रिया अन्तर्गत हालसम्म १४४ सुकुम्बासी परिवार सम्पर्कमा आएको जनाएको छ।
प्राधिकरणका अनुसार शनिबार राति ९:३० बजेसम्मको तथ्यांक अनुसार ती परिवारहरूले आफ्नो विवरण बुझाउँदै आधिकारिक रूपमा सम्पर्क स्थापित गरेका हुन्। उपत्यकाका विभिन्न क्षेत्रमा रहेका वास्तविक सुकुम्बासीहरूको पहिचान र व्यवस्थापनका लागि प्राधिकरणले सूचना जारी गरी सम्पर्कमा आउन आह्वान गरेको थियो।
सम्पर्कमा आएका परिवारहरूको विवरणलाई प्राधिकरणले थप प्रमाणीकरण गर्ने र वास्तविक सुकुम्बासी ठहरिएकाहरूलाई नियमानुसार व्यवस्थापनको प्रक्रियामा अगाडि बढाउने तयारी गरेको छ। प्राधिकरणले तोकिएको समयभित्र अन्य परिवारहरूलाई पनि सम्पर्कमा आउन आग्रह गर्दै आएको छ।
नदी किनारका अतिक्रमण हटाई उपत्यकाको सौन्दर्यीकरण र कोरिडोर निर्माण कार्यलाई तीव्रता दिन यो कदम चालिएको प्राधिकरणले स्पष्ट पारेको छ।
