बागलुङको ढोरपाटनमा सुत्केरी व्यथा लागेर स्वास्थ्य अवस्था जटिल बनेकी एक महिलाको नेपाली सेनाले उद्धार गरेको छ।
ढोरपाटन शिकार आरक्षको सुरक्षार्थ तैनाथ दुर्गाभञ्जन गुल्मबाट खटिएको सैनिक टोलीले ती महिलाको उद्धार गरेको हो। ढोरपाटन नगरपालिका वडा नं. ८, देवीथान निवासी ती महिलालाई व्यथाले च्यापेपछि हिँडडुल गर्न नसक्ने अवस्थामा फेला पारिएको थियो।
उद्धार पश्चात् सेनाले उनलाई तत्काल उपचारका लागि ढोरपाटनस्थित सामुदायिक स्वास्थ्य चौकी पुर्याएको छ। दुर्गम भेगमा यातायातको असुविधा र स्वास्थ्य जटिलताका बीच सेनाले समयमै गरेको यो उद्धारले स्थानीय स्तरमा प्रशंसा पाएको छ।
