काठमाडौंको ठूलो भर्याङस्थित यातायात व्यवस्था कार्यालयले सेवाग्राहीहरूलाई बिहानैदेखि लाइन नबस्न आग्रह गरेको छ। कार्यालयले एक सूचना जारी गर्दै बिहान ७ वा ८ बजे नै आएर लाइन बस्नु पर्ने अवस्था नरहेको स्पष्ट पार्दै ९ बजेपछि मात्र कार्यालय आउन अनुरोध गरेको हो।
पछिल्लो समय बिहानैदेखि अनावश्यक भिडभाड हुने गरेको भन्दै कार्यालयले सेवाग्राहीको सहजताका लागि यस्तो आग्रह गरेको जनाएको छ। सोमबार बाहेक साताका अन्य दिनहरूमा कार्यालयमा भिडभाड कम हुने र दिउँसो ५ बजेसम्म निरन्तर सेवा उपलब्ध हुने भएकाले हतार नगर्न कार्यालयको सुझाव छ।
कार्यालय प्रशासनका अनुसार सेवाग्राहीले आफ्नो समय व्यवस्थापन गरी भिडभाड नहुने समयमा आएर सहज रूपमा सेवा लिन सक्नेछन्। बेलुका ५ बजेसम्म सेवा प्रवाह हुने भएकाले बिहानै आएर सास्ती भोग्नु भन्दा अनुकूल समय मिलाएर आउनु उपयुक्त हुने कार्यालयले जनाएको छ।
