संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकमा सुधारका धेरै क्षेत्रहरू रहेको स्वीकार गर्दै यसलाई थप परिष्कृत बनाउने प्रक्रिया अगाडि बढाएको छ। विधेयकको मस्यौदा सार्वजनिक भएपछि सरोकारवालाहरूबाट व्यापक प्रतिक्रिया प्राप्त भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार विधेयकको मस्यौदामा अहिलेसम्म ३ हजार ५ सयभन्दा बढी लिखित तथा मौखिक राय सुझावहरू प्राप्त भएका छन्। कर्मचारी वृत्त, विज्ञ र सरोकारवाला समूहहरूबाट आएका यी सुझावहरूले विधेयकमा व्यापक परिमार्जनको आवश्यकता रहेको संकेत गरेका छन्।
सुझाव अध्ययनका लागि कार्यदल प्राप्त सुझावहरूलाई सुक्ष्म रूपमा अध्ययन गरी विधेयकलाई अन्तिम रूप दिन मन्त्रालयले एक कार्यदल गठन गरेको छ। प्रशासन सुधार महाशाखाका प्रमुखको संयोजकत्वमा गठित उक्त कार्यदलले प्राप्त रायहरूको विश्लेषण गरी विधेयकमा समेट्नुपर्ने सुधारका बुँदाहरू सिफारिस गर्नेछ।
मन्त्रालयले निजामती प्रशासनलाई संघीय ढाँचा अनुरूप प्रभावकारी, नतिजामुखी र कर्मचारीमैत्री बनाउन विधेयकमा आवश्यक सुधार गर्ने प्रतिबद्धता जनाएको छ। कार्यदलको प्रतिवेदनका आधारमा विधेयकलाई थप परिष्कृत गरी संसदीय प्रक्रियामा अगाडि बढाइने मन्त्रालयको तयारी छ।
