संयुक्त विद्यार्थी सङ्गठनले आज ललितपुरको पाटन संयुक्त क्याम्पसमा सरकारको पछिल्लो कदम विरुद्ध अनोठो शैलीमा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थी सङ्गठनहरू खारेजीको निर्णय र जनविरोधी आर्थिक नीतिको विरोध गर्दै उनीहरूले शङ्खघोष र शान्ति स्वस्तिवाचन गरी प्रदर्शन गरेका हुन्।
वर्तमान सरकारले विद्यार्थी सङ्गठनहरूको अस्तित्व समाप्त पार्ने गरी चालेका कदमहरू तत्काल फिर्ता लिनुपर्ने माग उनीहरूले राखेका छन्। प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूले सरकारले यो निर्णय नसच्याए थप सशक्त र देशव्यापी आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने चेतावनी दिएका छन्।
भन्सार नीतिको पनि कडा विरोध सङ्गठन खारेजीको मुद्दाबाहेक विद्यार्थीहरूले सीमा क्षेत्रमा सरकारले लगाएको नयाँ भन्सार नियमको पनि कडा विरोध गरेका छन्। सीमानाका क्षेत्रमा १०० रुपैयाँ बराबरको सामान्य सामग्री ल्याउँदा समेत भन्सार तिर्नुपर्ने सरकारको निर्णयले सर्वसाधारण र विद्यार्थीलाई मार परेको भन्दै यो नियम तत्काल फिर्ता लिन उनीहरूले माग गरेका छन्।
शङ्ख बजाउँदै र स्वस्तिवाचन गर्दै गरिएको यो ‘सिर्जनात्मक’ प्रदर्शनले पाटन क्याम्पस परिसरमा निकै चर्चा पाएको थियो। सरकारले आफ्ना मागहरू सम्बोधन नगरे सडक आन्दोलनमा होमिने सङ्गठनहरूले चेतावनी दिएका छन्।
