सरकारका प्रवक्ता एवं मन्त्री सस्मित पोखरेलले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) को क्रिकेट मैदान र त्यहाँ रहेका संरचनाहरू नभत्काइने स्पष्ट पारेका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको जिज्ञासाको उत्तर दिँदै उनले यस्तो बताएका हुन्।
यसअघि त्रिभुवन विश्वविद्यालय प्रशासनले ३५ दिने सूचना जारी गर्दै आफ्नो परिसरभित्र रहेका संरचनाहरू हटाउन निर्देशन दिएपछि खेलप्रेमी र सरोकारवालाहरूमाझ अन्योल र चिन्ता छाएको थियो। सोही सन्दर्भमा मन्त्री पोखरेलले उक्त सूचना संरचना भत्काउनका लागि नभई कानुनी प्रक्रिया मिलाउनका लागि मात्र भएको जानकारी दिए।
“आज बिहान मात्रै मेरो त्रिविका उपकुलपतिसहितका पदाधिकारीसँग यस विषयमा बैठक बसेको थियो,” मन्त्री पोखरेलले भने, “मैदान खाली गराउने सरकारको उद्देश्य होइन। पुरानो लिज (भाडा सम्झौता) को अवधि सकिएकाले अब नयाँ एग्रिमेन्ट (सम्झौता) हुन्छ। त्यसैले कुनै पनि संरचना भत्किँदैन।”
सरकारको यो स्पष्टोक्तिसँगै नेपाली क्रिकेटको ‘नर्सरी’ मानिने टीयू मैदानको भविष्यलाई लिएर भइरहेको चर्चा र आशङ्का तत्कालका लागि अन्त्य भएको छ। अब त्रिवि प्रशासन र सम्बन्धित निकायबीच नयाँ सम्झौता भएपछि मैदान र त्यहाँका भौतिक पूर्वाधारहरू यथावत रहनेछन्।
