फिल्म ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा सोमबार रिट दायर गरिएको छ। वादी समुदायको तर्फबाट रोशनी नेपालीले मुद्दा दायर गरेकी हुन्।
अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार रिट दर्ता भइसकेको छ र यससम्बन्धी सुनुवाइका लागि मंगलबार पेशी तोकिएको छ।
यम थापाको निर्देशनमा बनेको ‘लालीबजार’ आगामी १८ वैशाखदेखि प्रदर्शन गर्ने तयारीमा रहेको छ। षट्कोण आर्टसद्वारा निर्मित यस फिल्म वादी समुदायका महिलाहरूको संघर्षमा आधारित कथावस्तुमा केन्द्रित छ।
यता, सोमबार नै केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई युनिभर्सल प्रमाणपत्र प्रदान गरेको छ। विवाद बढ्दै जाँदा निर्माताहरूले यस विषयमा धारणा सार्वजनिक गर्न आकस्मिक पत्रकार सम्मेलनसमेत आयोजना गरेका छन्।
