राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले झन्डै दुई तिहाइ बहुमत प्राप्त सरकारले संसद् छलेर अध्यादेश ल्याउनु कुनै बहादुरी नभएको टिप्पणी गरेका छन्। सरकारले हालै ल्याएको अध्यादेशको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद कार्कीले सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाएका हुन्।
सांसद कार्कीले सरकारले संविधानको मर्मलाई वास्ता नगरी केवल ‘अक्षर’ मा आधारित रहेर अध्यादेश ल्याउनु गलत भएको उल्लेख गरेका छन्। “संविधानको अक्षरलाई मात्र समातेर त्यसको मर्म र भावनालाई कुल्चिने छुट कसैलाई छैन,” उनले भनेका छन्। संसद् अधिवेशन चालु नरहेको अवस्थामा अध्यादेश ल्याउन पाउने व्यवस्था भए पनि, संसद्लाई छलेर चोर बाटोबाट कानुन बनाउनु लोकतान्त्रिक अभ्यास नभएको उनको तर्क छ।
कार्कीले राजनीतिक दलहरूको दोहोरो चरित्रमाथि पनि कडा प्रहार गरेका छन्। उनले विगतलाई स्मरण गर्दै भनेका छन्:
आफू विपक्षी दलमा हुँदा अध्यादेश ल्याउँदा चर्को विरोध गर्नेहरूले अहिले सत्तामा पुगेपछि सोही बाटो रोज्नु अनैतिक हो। उनले विपक्षी दलले अध्यादेश ल्याउँदा आफूहरूले प्रश्न उठाएको स्मरण गराउँदै अहिले आफ्नै दल सम्मिलित सरकारले पनि त्यस्तै गल्ती गर्दा मौन बस्न नसकिने प्रष्ट पारेका छन्।
“हिजो अर्कैले गर्दा गलत हुने, आज हामीले गर्दा कसरी सही हुन सक्छ? प्रश्न उठाउने काम हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ,” कार्कीले उल्लेख गरेका छन्।
शक्तिशाली र झन्डै दुई तिहाइको समर्थन प्राप्त सरकारले संसद्मा घनिभूत छलफल गरेर कानुन बनाउनुपर्नेमा अध्यादेशको साहारा लिनुले सरकारको नियत र क्षमतामाथि प्रश्न उठेको उनको दाबी छ। सांसद कार्कीको यो अभिव्यक्तिलाई रास्वपाभित्र र बाहिर सरकारको कार्यशैलीप्रति बढ्दै गएको असन्तुष्टिको रूपमा हेरिएको छ।
सरकारले कुन प्रयोजनका लागि अध्यादेश ल्याएको हो भन्नेबारे सार्वजनिक बहस भइरहेका बेला सत्तारुढ दलकै सांसदको यो टिप्पणीले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरिदिएको छ।
