रङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित सशस्त्र प्रहरी बलको भुटानी शरणार्थी सुरक्षा बेस क्याम्प लामो समयदेखि बन्द रहँदा स्थानीय बासिन्दा र शरणार्थी समुदायमा असुरक्षाको त्रास बढेको छ। ‘जेन-जी’ आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि सुरक्षाकर्मीहरू त्यहाँबाट हटेका थिए, तर आन्दोलन साम्य भएको लामो समय बितिसक्दा पनि क्याम्प पुन: सञ्चालनमा नआउँदा सुरक्षा चुनौती थपिएको हो।
वि.सं. २०६४ सालमा स्थापना भएको उक्त बेस क्याम्पमा करिब १५ जना सशस्त्र प्रहरीको टोली खटिने गरेको थियो। क्याम्प सञ्चालनमा रहँदा शरणार्थी शिविर र आसपासका क्षेत्रमा हुने चोरी, लागुऔषध प्रयोग, सामाजिक विवाद र सानातिना आपराधिक क्रियाकलापमा तत्काल नियन्त्रण हुने गरेको थियो। तर, अहिले प्रहरीको भौतिक उपस्थिति नरहँदा उक्त क्षेत्र ‘सुरक्षा शून्यता’ को अवस्थामा पुगेको स्थानीयको गुनासो छ।
स्थानीय जनप्रतिनिधि, नागरिक समाज र भुटानी शरणार्थी शिविर व्यवस्थापन समितिले क्याम्प पुनः स्थापनाका लागि जिल्ला प्रशासन कार्यालय मोरङदेखि सशस्त्र प्रहरीको मुख्यालयसम्म पटक–पटक लिखित र मौखिक माग राख्दै आएका छन्। तर, सरकार र सम्बन्धित निकायले यसलाई प्राथमिकतामा नराखेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।
नगरपालिकाका प्रतिनिधिहरूका अनुसार क्याम्प बन्द हुनुले पथरी क्षेत्रको समग्र शान्ति सुरक्षाको सूचकाङ्कमा असर पारेको छ। विमानस्थल र अन्य राष्ट्रिय महत्वका स्थानमा जस्तै यहाँ पनि सुरक्षाको भरपर्दो व्यवस्था नभए यसले भविष्यमा ठुलो सामाजिक संकट निम्त्याउन सक्ने चेतावनी दिइएको छ।
