झापाको मेचीनगर नगरपालिका–४ स्थित बाहुनडाँगी चोक नजिकै जङ्गली हात्तीको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन्। घर नजिकैको क्षेत्रमा अचानक निस्किएको हात्तीले ३८ वर्षीया सुनिता बज्राचार्य र उनकी १३ वर्षीया छोरी यवद्रालाई आक्रमण गरेको हो। बिहानको समयमा भएको यस अप्रत्याशित घटनाले स्थानीय बासिन्दामा त्रास फैलाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले दिएको जानकारी अनुसार हात्तीको आक्रमणबाट आमा र छोरी दुवैको खुट्टामा गम्भीर चोट लागेको छ। घाइतेहरूलाई स्थानीय र प्रहरीको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल लगिएको छ। चिकित्सकहरूका अनुसार दुवैको स्वास्थ्य अवस्था स्थिर भए पनि चोट गम्भीर प्रकृतिको रहेकाले थप उपचार जारी छ।
बाहुनडाँगी क्षेत्र लामो समयदेखि जङ्गली हात्तीको त्रासमा रहँदै आएको बस्ती हो। विशेष गरी सीमा पारिबाट आउने हात्तीहरूले बेलाबेला मानवीय क्षति र बालीनाली नष्ट गर्ने गरेका छन्। प्रहरीले सो क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन र जङ्गली जनावरको मुभमेन्ट देखिएमा तत्काल जानकारी दिन स्थानीयलाई आग्रह गरेको छ। सरकारले हात्ती नियन्त्रणका लागि विद्युतीय तारवारलगायतका उपायहरू गरे पनि हात्तीको आतङ्क पूर्ण रूपमा कम हुन सकेको छैन।
