नेपाली कांग्रेसको संस्थापन (शेरबहादुर देउवा) पक्षको तीन दिनदेखि जारी महत्वपूर्ण भेला ११ बुँदे निर्णय पारित गर्दै सम्पन्न भएको छ। गत बुधबारदेखि महाराजगञ्जस्थित स्मार्ट होटलमा चलेको यस भेलाले पार्टीको आगामी कार्यदिशा र हालै सम्पन्न निर्वाचनमा बेहोर्नुपरेको पराजयको गम्भीर समीक्षा गरेको छ। भेलाको समापनसँगै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एक विज्ञप्ति जारी गर्दै भेलाका निष्कर्षहरू सार्वजनिक गर्नुभएको छ।
विज्ञप्तिमा विशेषगरी पार्टीभित्र चलेको विशेष महाधिवेशन र नियमित महाधिवेशनको विवादले निर्वाचनमा नकारात्मक असर पारेको उल्लेख गरिएको छ। नेता खड्काका अनुसार पार्टी नियमित १५औँ महाधिवेशनमा जाने कि विशेष महाधिवेशन बोलाउने भन्ने द्वन्द्वका कारण निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस विवादको भुमरीमा फसेको थियो। यही आन्तरिक कलह र अन्योलताले गर्दा पार्टीले चुनावी मैदानमा ऐतिहासिक क्षति व्यहोर्नुपरेको देउवा समूहको ठम्याइ छ।
देउवा पक्षले पार्टीको आन्तरिक एकता मजबुत नहुँदा त्यसको प्रत्यक्ष फाइदा विपक्षी दलहरूलाई पुगेको विश्लेषण गरेको छ। ११ बुँदे निर्णयमा पार्टीलाई अब कसरी अगाडि बढाउने, विधानको कार्यान्वयन र कार्यकर्ताको मनोबल कसरी उच्च राख्ने भन्ने विषयहरू समेटिएका छन्। निर्वाचनमा देखिएको क्षतिलाई सुधार्न अब गुटबन्दी भन्दा माथि उठेर सङ्गठन सुदृढीकरणमा लाग्नुपर्नेमा भेलाले जोड दिएको छ।
पार्टीभित्र इतर पक्षले विशेष महाधिवेशनको एजेन्डा उठाइरहेका बेला संस्थापन पक्षको यो भेला र निष्कर्षलाई अर्थपूर्ण रूपमा हेरिएको छ। खड्काद्वारा जारी विज्ञप्तिले निर्वाचनको पराजयको दोष पार्टीभित्रकै अनपेक्षित विवादलाई दिएपछि अब कांग्रेसभित्र महाधिवेशनको बहसले कुन मोड लिन्छ भन्ने चासो बढेको छ।


