काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ‘कोठा भाडामा पाइन्छ?’ भन्दै सर्वसाधारणलाई अल्मल्याएर सुनका गहना लुट्ने एउटा संगठित गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चन्द्रागिरि क्षेत्रमा शृङ्खलाबद्ध लुटपाट मच्चाएपछि प्रहरी वृत्त थानकोट र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २५ दिन लामो सूक्ष्म अनुसन्धानपछि ६ जनालाई पक्राउ गर्न सफल भएको हो।
पक्राउ पर्नेहरूमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, २६ वर्षीय विमल तामाङ, २१ वर्षीय सुजन तामाङ, नुवाकोट बिदुरका ४४ वर्षीय सतिश अमात्य तथा सुमन तामाङ र विजय तामाङ रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार यो समूहले काठमाडौँका स्वयम्भु, कीर्तिपुर, बालाजुको तिनपिप्ले, सुकेधारा, थानकोट, मातातीर्थ र नैकापसहित ७ स्थानमा लुटपाट गरेको पुष्टि भएको छ।
यो गिरोहले लुटपाटका लागि दिउँसो १२ बजेदेखि ५ बजेसम्मको समय रोज्ने गरेको अनुसन्धानबाट खुलेको छ। दिउँसो मानिसहरूको चहलपहल कम हुने समयमा उनीहरू चोरीको मोटरसाइकल चढेर निस्कन्थे। बाटोमा एक्लै हिँडिरहेका वा वृद्ध महिला देखेपछि उनीहरूले मोटरसाइकल रोकेर ‘आमा यो ठाउँमा डेरा पाइन्छ?’ भन्दै कुरा सुरु गर्थे। महिलाहरूले कोठाबारे जानकारी दिन थालेपछि उनीहरूले थकाई लागेको बहाना गर्दै महिलालाई अलमल्याउने र मौका पाउनासाथ घाँटीको सिक्री थुतेर फरार हुने गरेको पाइएको छ।
गत चैत १९ गते चन्द्रागिरि–१३ मितेरी चोकमा ७० वर्षीया वृद्धाको सिक्री लुटिएको घटना र चैत १२ मा मातातीर्थ फनपार्क नजिकै २९ वर्षीया महिलाको डेढ तोला सुन लुटिएको घटनाको प्रकृति उस्तै देखिएपछि प्रहरीले अनुसन्धान तीव्र पारेको थियो। लुटेराहरूले लुटपाटमा प्रयोग गरेको मोटरसाइकल केही पर छाड्ने र प्रहरीले फेला नपारेमा पुनः त्यही प्रयोग गर्ने गरेको समेत भेटिएको छ।
पक्राउ परेकामध्ये सविन तामाङ यसअघि पनि चोरी मुद्दामा पक्राउ परेका व्यक्ति हुन् भने विमल तामाङ पूर्व टिप्पर चालक हुन्। प्रहरीले उनीहरूको साथबाट लुटिएको १ तोला सुन र लुटपाटमा प्रयोग भएका दुई वटा चोरीका मोटरसाइकल बरामद गरेको छ। डीएसपी एलिजा गिरीको नेतृत्वमा खटिएको टोलीले प्राविधिक विश्लेषण र रेकीका आधारमा लुटेराहरूलाई तारकेश्वरको पैयुँटारबाट नियन्त्रणमा लिएको हो। हाल उनीहरूमाथि थानकोट वृत्तले थप अनुसन्धान गरिरहेको छ।
अपरिचित व्यक्तिले बाटोमा रोकेर अनावश्यक सोधखोज गरेमा वा शंकास्पद व्यवहार देखाएमा सतर्क रहन र तत्काल प्रहरीलाई खबर गर्न जिल्ला प्रहरी परिसर काठमाडौँले सर्वसाधारणमा अनुरोध गरेको छ।
