जनध्वनि
अब जग्गा धितो राख्दा वा फुकुवा गर्दा मालपोत कार्यालय पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभाग ले बैंक तथा वित्तीय संस्थामार्फत हुने धितोबन्धकी रोक्का तथा फुकुवा सम्बन्धी सम्पूर्ण प्रक्रिया अनिवार्य रूपमा अनलाइन प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको हो।
विभागले जारी गरेको सूचनाअनुसार वैशाख २१ गतेदेखि उक्त सेवा पूर्ण रूपमा डिजिटल माध्यमबाट मात्र सञ्चालन हुनेछ। यसअघि यस्ता कार्यका लागि सेवाग्राही तथा बैंक प्रतिनिधि मालपोत कार्यालय पुग्नुपर्ने व्यवस्था थियो।
सरकारले शासकीय सुधारको कार्यसूचीअनुसार सेवा प्रवाहलाई छिटो, सहज र बिचौलियामुक्त बनाउन यो कदम चालेको जनाएको छ। साथै, सेवा प्रक्रियालाई मुहारबिहीन (फेसलेस), समयबद्ध र पूर्वानुमानयोग्य बनाउने लक्ष्यसमेत राखिएको छ।
नयाँ प्रणाली कार्यान्वयनसँगै सेवाग्राहीले झन्झटरहित र छिटो सेवा पाउने विश्वास सरकारको छ। डिजिटल माध्यमबाट हुने यो व्यवस्था पारदर्शिता बढाउने र अनावश्यक हस्तक्षेप घटाउने दिशामा महत्वपूर्ण मानिएको छ।
