रोल्पाको थपाङ गाउँपालिका–स्थित जलजलामा भएको जिप दुर्घटनामा मृत्यु भएका रुकुम पूर्वका एकै घरका ६ जनाको सामूहिक दाहसंस्कार गरिएको छ। सोमबार धाउने बगरस्थित सानीभेरी नदी किनारमा उनीहरूको अन्त्येष्टि गरिएको हो।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा सिस्ने गाउँपालिका–६ टाकुराका २८ वर्षीया युवा बुढाथोकी, उनका १० वर्षीय छोरा दिव्यान बुढाथोकी, ५३ वर्षीया सासुआमा तिलकुमारी बुढाथोकी, ३२ वर्षीय देवर गोर्खबहादुर बुढाथोकी, ४० वर्षीया कान्छी सासुआमा ओमकुमारी बुढाथोकी र ओमकुमारीका १३ वर्षीय छोरा सुदीप बुढाथोकी रहेका छन्।
सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीका अनुसार मृतकका श्रीमान् दीपक बुढाथोकी अमेरिका बाट घर फर्किएपछि अन्त्येष्टि गरिएको हो।
पूर्णिमाका अवसरमा जलजलामा लाग्ने पूजामा सहभागी हुन बुढाथोकी परिवार रुकुमकोटबाट गएका थिए। तर गन्तव्य नपुग्दै जिप दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको हो।
दुर्घटनामा कुल २० जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए। यसअघि १४ जनाको शवको दाहसंस्कार गत शनिबार नै गरिएको थियो।
