तमिलनाडुको राजनीतिमा यसपटक ऐतिहासिक परिवर्तनको संकेत देखिएको छ। अभिनेता तथा राजनीतिज्ञ सी. जोसेफ विजय नेतृत्वको तमिलग वेत्री कझगम (टिभीके) पार्टीले चुनावी परिणाममा अप्रत्याशित सफलता हासिल गरेको छ।
प्रारम्भिक मतगणना अनुसार, टिभीके बहुमत नजिक पुगेको छ। यससँगै विजय तमिलनाडुको मुख्यमन्त्री बन्ने सम्भावना बलियो बनेको छ।
दशकौँदेखि द्रमुक र अन्नाद्रमुक बीच सीमित रहेको सत्ता समीकरणलाई यसपटक नयाँ शक्तिले चुनौती दिएको विश्लेषण गरिएको छ।
विजयको चुनावी अभियान प्रविधिमैत्री र आकर्षक रहेको थियो। होलोग्राम प्रविधि, सामाजिक सञ्जाल र ‘सिठी’ अभियानले विशेषगरी युवा मतदातालाई आकर्षित गरेको देखिएको छ।
चुनावी रणनीतिमा राजनीतिक रणनीतिकार प्रशान्त किशोरको महत्वपूर्ण भूमिका रहेको बताइएको छ।
यद्यपि, करुर जिल्लामा चुनावी र्यालीका क्रममा भएको भागदौडमा ४१ जनाको मृत्यु भएको घटनाले अभियानलाई विवादित बनाएको थियो। उक्त घटनापछि विजयले सार्वजनिक रूपमा दुःख व्यक्त गरेका थिए।
यसपटक ठूलो संख्यामा युवा मतदाताको सहभागिताले चुनावी परिणाममा निर्णायक प्रभाव पारेको बताइएको छ।
तमिलनाडुको राजनीतिमा नयाँ अध्याय सुरु हुने संकेतसँगै अब अन्तिम परिणामतर्फ सबैको ध्यान केन्द्रित भएको छ।
