काठमाडौं महानगरपालिकालाई ‘सडक मानवमुक्त’ बनाउने अभियानअन्तर्गत पशुपति क्षेत्रको तिलगंगामा ‘स्क्रिनिङ सेन्टर’ (होल्डिङ सेन्टर) सञ्चालनमा ल्याइएको छ। महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमको संयुक्त पहलमा वैशाख २२ गतेदेखि वडा नं. ८ स्थित तिलगंगामा यो सेन्टर सञ्चालन गरिएको हो। अभियानको पहिलो दिन पशुपति क्षेत्रका विभिन्न स्थानबाट २५ देखि ७८ वर्ष उमेर समूहका ३६ जना सडक सहयोगापेक्षीहरूको उद्धार गरिएको छ, जसमध्ये २८ जनालाई सेन्टरमा राखिएको थियो। उद्धार गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीलाई सोही दिन साँझसम्ममा परिवारसँग पुनर्मिलन गराइएको महानगरले जनाएको छ। महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मंगलबार सेन्टरको स्थलगत निरीक्षण गर्दै उद्धार गरिएका व्यक्तिहरूको अवस्था र सडकमा आउनुपर्ने कारणबारे जानकारी लिनुभएको छ। उहाँले जसको कोही छैन, उसका लागि सरकार छ भन्ने अनुभूति दिलाउन यो कार्य सुरु गरिएको बताउँदै पारिवारिक पुनर्मिलनलाई प्राथमिकता दिइने र असहायलाई मात्र आश्रममा राखिने प्रष्ट पार्नुभयो।
महानगरले हाल बिहान, दिउँसो र राति गरी तीनवटा सिफ्टमा उद्धार टोली परिचालन गरिरहेको छ। विशेषगरी पशुपति लगायतका धार्मिक र पुरातात्विक क्षेत्रमा सडक आश्रितहरूको संख्या धेरै भएकाले ती क्षेत्रमा केन्द्रित भएर काम भइरहेको छ। स्क्रिनिङ सेन्टरको स्थापनासँगै अब उद्धार गरिएका व्यक्तिहरूको अवस्था वर्गीकरण गर्न, उपचार आवश्यक भएकालाई स्वास्थ्य सुविधा दिन र वास्तविक असहाय पहिचान गर्न सहज हुने विश्वास लिइएको छ। पहिलो दिन उद्धार गरिएकाहरूमा सोलुखुम्बु, सर्लाही, मकवानपुर लगायत विभिन्न जिल्लाका नागरिकहरू रहेका छन्, जसमा केही मानसिक स्वास्थ्य समस्या भएका र केही शारीरिक रूपमा अशक्त व्यक्तिहरू समेत छन्। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले सेन्टरको पूर्वाधारलाई थप व्यवस्थित बनाउन कोषले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ। कार्यवाहक प्रमुख डंगोलले सडकमा अलपत्र परेका व्यक्तिहरू देखेमा मानव सेवा आश्रमको टेलिफोन नम्बरमा सम्पर्क गरी सहयोग गर्न र यो साझा दायित्वमा हातेमालो गर्न सम्पूर्ण नागरिकलाई आह्वान गर्नुभएको छ।
