मध्यपूर्वमा जारी तनावका कारण इन्धनको मूल्यमा भएको वृद्धिसँगै अस्ट्रेलियामा घरायसी खर्चमा उल्लेख्य बढोत्तरी भएको छ। अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत मार्च महिनामा मात्रै घरायसी खर्च १.६ प्रतिशतले बढेको देखिएको छ। यसअघि जनवरीमा ०.२ र फेब्रुअरीमा ०.३ प्रतिशतले मात्र बढेको खर्च मार्चमा आइपुग्दा तीव्र गतिमा बढेको हो, जुन सन् २०२४ को मार्चको तुलनामा ६.३ प्रतिशतले बढी हो।
एबीएसका व्यवसाय तथ्याङ्क प्रमुख टम लेका अनुसार इन्धनको मूल्य बढेसँगै यातायात लागतमा ५.१ प्रतिशतले वृद्धि भएकाले समग्र घरायसी खर्चमा प्रत्यक्ष प्रभाव परेको हो। मार्च महिनाको सुरुआतदेखि नै बढ्न थालेको इन्धनको मूल्य महिनाको अन्त्यतिर उच्च बिन्दुमा पुगेको तथ्याङ्कले देखाएको छ। यसरी इन्धन र यातायातको बढ्दो लागतले अस्ट्रेलियाली परिवारहरूको मासिक बजेटमा ठूलो चाप पारेको छ।
