कास्की — पोखराको फेवातालमा हावाहुरीका कारण कायक डुंगा पल्टिँदा एक युवक फसेका छन्। तर समयमै पुगेको सशस्त्र प्रहरीको टोलीले उनलाई सकुशल उद्धार गरेको छ।
बुधबार अचानक आएको हावाहुरी र छालका कारण एकल कायक डुंगा पल्टिएर पोखरा महानगरपालिका–६ बैदामका २८ वर्षीय सुबिन ठकुरी पानीमा फसेका थिए।
तनहुँको भिमाद नगरपालिका घर भएका ठकुरीले चलाइरहेको कायक पल्टिएपछि अवस्था जोखिमपूर्ण बनेको थियो।
घटनाबारे जानकारी पाउनासाथ फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा उद्धार टोली खटिएको थियो।
टोलीले तत्कालै उद्धार गरी ठकुरीलाई सकुशल बाहिर निकाल्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ।
हावाहुरीका बेला फेवातालमा जलयात्रा गर्दा सतर्कता अपनाउन सुरक्षा निकायले आग्रह गरेको छ।
