त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले खाडी मुलुक, विशेषगरी संयुक्त अरब इमिरेट्स (UAE) जान लागेका नेपाली युवाहरूको राहदानी (पासपोर्ट) मा नै ‘काम गर्न निषेध’ लेख्न थालेपछि नयाँ विवाद उत्पन्न भएको छ।
अध्यागमनले भिजिट भिसामा जाने यात्रीहरूको पासपोर्टको ‘डिर्पाचर’ छाप मुनि हातले नै “Employment is strictly prohibited” (रोजगारीमा संलग्न हुन सख्त निषेध) र “UAE Visit Only” जस्ता चेतावनी लेख्न थालेको हो।
भिजिट भिसामा जान लागेका तर भित्री रूपमा कामको खोजीमा रहेका हजारौँ युवाहरू यो नियमका कारण समस्यामा परेका छन्।
कानुनी रूपमा जारी गरिएको सरकारी दस्तावेज (पासपोर्ट) मा यसरी हातले केरमेट गर्नु वा चेतावनी लेख्नु अन्तर्राष्ट्रिय मापदण्ड विपरीत हुने विज्ञहरूको तर्क छ।
सरकारले भिजिट भिसामा गएर काम खोज्ने र पछि अलपत्र पर्ने क्रम रोक्न यो कदम चालेको दाबी गरे पनि, यसले विमानस्थलमा हुने ‘सेटिङ’ र युवाहरूलाई दिइने सास्तीलाई झन् बढावा दिने आशंका गरिएको छ।
किन गरियो यस्तो?
अध्यागमन विभागका अनुसार, पछिल्लो समय भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करहरूले युवाहरूलाई विदेश लैजाने र त्यहाँ पुगेपछि अलपत्र पार्ने घटना बढेकाले पूर्व-सतर्कताका लागि यो निर्णय लिइएको हो। पासपोर्टमा लेखिएको यो चेतावनीले सम्बन्धित देशको अध्यागमनलाई पनि ती व्यक्ति कामदार नभई पर्यटक मात्र हुन् भन्ने जानकारी दिने सरकारी उद्देश्य रहेको बुझिएको छ।
तर, सर्वसाधारण र वैदेशिक रोजगार क्षेत्रका जानकारहरूले भने यसलाई ‘अव्यवहारिक’ र ‘नागरिकको हिँडडुल गर्न पाउने अधिकारमाथिको हस्तक्षेप’ भनेर टिप्पणी गरिरहेका छन्।
