काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रक्रिया प्रतिनिधि सभाबाट आर्थिक विधेयक तथा राष्ट्रऋण उठाउने विधेयक पारित भएसँगै औपचारिक रूपमा सम्पन्न भएको छ।
प्रतिनिधि सभाको बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत आर्थिक विधेयक बहुमतका आधारमा पारित गरेको हो। यस्तै, राष्ट्रऋण उठाउने विधेयक भने सर्वसम्मत रूपमा पारित भएको छ।
विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न र सुझावको अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिएका थिए। सरकारले बजेट कार्यान्वयन, राजस्व व्यवस्थापन र आर्थिक प्राथमिकताबारे आफ्नो धारणा स्पष्ट पारेको थियो।
आर्थिक विधेयक र राष्ट्रऋण उठाउने विधेयक पारित भएसँगै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको संवैधानिक प्रक्रिया पूरा भएको छ।
