काठमाडौं — प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले आफ्नो आन्तरिक कार्यविधि तयार गर्न सात सदस्यीय उपसमिति गठन गरेको छ।
समितिको कामकारबाहीलाई थप व्यवस्थित र मर्यादित बनाउन ‘आन्तरिक कार्यविधि २०८०’ को मस्यौदा अध्ययन तथा अन्तिम रूप दिन यो उपसमिति गठन गरिएको हो।
उपसमितिमा एक जना संयोजक र छ जना सदस्य रहने व्यवस्था गरिएको छ। दलगत प्रतिनिधित्व सुनिश्चित गर्दै सदस्यहरूको नाम उपलब्ध गराउन समितिका सभापति अशोक चौधरीले आह्वान गर्नुभएको छ।
बैठकलाई सम्बोधन गर्दै सभापति चौधरीले आगामी दिनमा मन्त्रालयगत छलफललाई अझ सघन र परिणाममुखी बनाइने बताउनुभयो। उहाँका अनुसार अब सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरूलाई समेत बैठकमा आमन्त्रण गरी विषयगत छलफल गरिनेछ।
उहाँले समितिमा उठाइएका मुद्दा र सुझावलाई प्राथमिकताका साथ समेटिने पनि स्पष्ट पार्नुभयो।
समितिको अर्को बैठक वैशाख २५ गते दिउँसो १ बजे बस्ने तय भएको छ। उक्त बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्री र सचिवसँग छलफल गर्ने कार्यसूची रहेको छ।
सभापति चौधरीका अनुसार बैठकलाई प्रभावकारी बनाउन मन्त्रीसँगको छलफल अघि समितिभित्रै आन्तरिक तयारी गर्ने नयाँ अभ्यास सुरु गरिनेछ।
