काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा रु २ खर्ब ४३ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ। यो कार्यालयलाई दिइएको वार्षिक लक्ष्यको ८९.१९ प्रतिशत रहेको कार्यालयले जनाएको छ।
सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षका लागि कार्यालयलाई रु २ खर्ब ७३ अर्ब ३७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको थियो। लक्ष्यअनुसार पूर्ण राजस्व उठ्न नसके पनि वीरगञ्ज भन्सारले देशकै सबैभन्दा ठूलो राजस्व योगदान गर्ने कार्यालयका रूपमा आफ्नो भूमिका कायम राखेको छ।
भन्सार विभागले गत आर्थिक वर्षमा देशभरका सबै भन्सार कार्यालयबाट रु ५ खर्ब ८८ अर्ब २५ करोड राजस्व उठाउने लक्ष्य राखेको थियो। कुल लक्ष्यमध्ये मात्रै वीरगञ्ज भन्सारको हिस्सा ४१.४५ प्रतिशत रहेको छ।
कार्यालयले आर्थिक वर्षभरि मासिक रूपमा अर्बौँ रुपैयाँ राजस्व सङ्कलन गर्दै आएको थियो। सबैभन्दा बढी चैतमा रु २२ अर्ब ८२ करोड र त्यसपछि जेठमा रु २२ अर्ब ३२ करोड राजस्व उठेको कार्यालयले जनाएको छ।
