इन्डोनेसियाको सुमात्रा टापुस्थित एक प्रमुख राजमार्गमा यात्रुवाहक बस र ट्याङ्कर ट्रक एकआपसमा ठोक्किँदा १६ जनाको मृत्यु भएको छ।
स्थानीय अधिकारीहरूका अनुसार दक्षिण सुमात्रा प्रान्तको करङ जया जिल्लास्थित ट्रान्स–सुमात्रा राजमार्गमा बुधबार दिउँसो करिब १२:३९ बजे उक्त दुर्घटना भएको हो। लामो दूरीको अन्तरशहर बस र विपरीत दिशाबाट आइरहेको ट्याङ्कर ट्रक एकआपसमा ठोक्किएको स्थानीय सञ्चारमाध्यम जकार्ता ग्लोबले जनाएको छ।
दुर्घटनापछि स्थानीय विपद् व्यवस्थापन एजेन्सीले तत्काल उद्धार टोली परिचालन गरेको थियो। भग्नावशेषमा धेरै यात्रुहरू अड्किएकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो। उद्धारकर्मी र ट्राफिक प्रहरीले दिनभर घटनास्थलमा काम गर्दै शव निकाल्ने, घाइतेको उपचार गर्ने र क्षेत्र सुरक्षित बनाउने प्रयास गरेका थिए।
अधिकारीहरूले घाइतेहरूको उपचारलाई प्राथमिकतामा राखिएको जनाउँदै दुर्घटनाको यकिन कारणबारे अनुसन्धान भइरहेको बताएका छन्। मृतकहरूको पूर्ण विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन।
