जनध्वनि
काभ्रेपलाञ्चोक । बाढीका कारण अवरुद्ध भएको बीपी राजमार्ग तीन दिनपछि सञ्चालनमा आएको छ। अस्थायी डाइभर्सन निर्माण गरी आज बिहानदेखि यस मार्गमा सवारी आवागमन खुलाइएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार वर्षा जारी रहेकाले अत्यावश्यक बाहेक यस मार्गबाट यात्रा नगर्न अनुरोध गरिएको छ। गत सोमबारको वर्षासँगै रोशी खोलामा आएको बाढीले राजमार्ग अवरुद्ध भएको थियो।
वर्षा हुँदा रोशी क्षेत्रको करिब चार किलोमिटर क्षेत्रमा निर्माण गरिएको अस्थायी डाइभर्सनमा क्षति पुग्ने जोखिम भएकाले बेला–बेला आवागमन रोक्ने गरिएको प्रहरीले जनाएको छ।
राजमार्ग बन्द हुँदा सवारीसाधनलाई धुलिखेल, काभ्रेभञ्ज्याङ, मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा रोकिने व्यवस्था गरिएको थियो।
गत वर्षको बाढीपहिरोले चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाएपछि खोलामै डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो। हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण कार्य भइरहेको छ।
