लिबियाका वाणिज्य बैंकहरूले विगत १३ वर्षमा पहिलोपटक सर्वसाधारण नागरिकहरूलाई वैदेशिक मुद्रा (अमेरिकी डलर) नगदै वितरण गर्न थालेका छन्। लिबियाको केन्द्रीय बैंकले वैदेशिक मुद्रा व्यवस्थापन नीतिमा ठूलो परिवर्तन गर्दै नागरिकहरूले आफ्नो वार्षिक वैदेशिक मुद्रा कोटाअन्तर्गत २ हजार अमेरिकी डलरसम्म बैंकको काउन्टरबाटै सिधै बुझ्न पाउने व्यवस्था मिलाएको हो।
यो नयाँ ‘व्यक्तिगत प्रयोजन’ कार्यक्रम लागू हुनुअघि लिबियाली नागरिकहरू वैदेशिक मुद्राका लागि बैंक ट्रान्सफर वा इलेक्ट्रोनिक कार्डमा मात्रै निर्भर हुनुपर्ने बाध्यता थियो। केन्द्रीय बैंकले आधिकारिक बैंकिङ प्रणालीमार्फत विदेशी मुद्राको उपलब्धता बढाउन र पहुँचलाई सहज बनाउन यो रणनीति अवलम्बन गरेको जनाएको छ। यस व्यवस्थाकालागि केन्द्रीय बैंकले वाणिज्य बैंकहरूलाई आवश्यक वैदेशिक मुद्रा उपलब्ध गराउनेछ भने सम्बन्धित बैंकहरूले नै नगद ढुवानी र सुरक्षाको पूर्ण जिम्मेवारी वहन गर्नुपर्नेछ। यस कदमलाई लिबियाको अर्थतन्त्र र वित्तीय प्रणाली सुधारको दिशामा एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
