काठमाडौँ — पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको कथित भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित थप पूर्वमन्त्रीहरूलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ। यससँगै उक्त प्रकरणमा जोडिने पूर्वमन्त्रीहरूको संख्या ६ पुगेको छ।
बिहीबार विशेष अदालतमा दायर गरिएको मुद्दामा ठेक्का सम्झौतामा भएको व्यवस्था विपरीत ठेकेदारलाई राजस्व छुट दिई राज्यलाई ठूलो हानि पुर्याइएको दाबी गरिएको छ। अख्तियारले ३ अर्ब ६२ करोड ५ लाखभन्दा बढी बिगो मागदाबी गरेको छ।
यसअघि नै तत्कालीन पाँच मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, रामशरण महत र स्व. पोष्टबहादुर बोगटीलाई प्रतिवादी बनाइएको थियो। बोगटीको निधन भइसकेकाले उनकी पत्नीलाई समेत मुद्दामा समावेश गरिएको छ।
यस नयाँ मुद्दामा पूर्व अर्थमन्त्री कार्कीसहित अर्थ तथा पर्यटन मन्त्रालयका उच्च अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक तथा अन्य कर्मचारीहरू समेत प्रतिवादी छन्।
अख्तियारका अनुसार विमानस्थल निर्माणका क्रममा परामर्शदाता नियुक्ति, बजेट प्रयोग र सम्झौतामा अनियमितता भएको पाइएको छ। यसअघि पनि ४६ करोडभन्दा बढी बिगो माग गर्दै अर्को मुद्दा दायर गरिएको थियो।
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा लगातार नयाँ मुद्दा दायर हुँदै जाँदा सरकारी तहका उच्च पदाधिकारीहरू थप कानुनी घेरामा तानिँदै गएका छन्।
