काठमाडौँ — कीर्तिपुर नगरपालिका–१०, पोडेटोलमा भएको दिनदहाडै खुकुरी प्रहार गरी एक युवकको हत्या प्रकरणमा संलग्न ३ जनालाई अदालतले ७ दिन म्याद थप गरेको छ।
बुधबार भएको उक्त घटनामा गुल्मीको धुर्कोट गाउँपालिका घर भएका बिपिन घिमिरेमाथि खुकुरी प्रहार हुँदा उपचारका क्रममा उनको कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो।
प्रहरीका अनुसार पक्राउ परेका तीनै जना आरोपितमाथि अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँले ७ दिनको म्याद थप गरेको हो। पक्राउ पर्नेहरूमा अछाम, कैलालीका विभिन्न जिल्लाका २२ देखि २५ वर्ष उमेर समूहका युवकहरू रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार महेन्द्र शाह, रविन्द्र धामी र रोशन बिष्टमाथि अनुसन्धान भइरहेको छ। घटनाको कारण र संलग्नता बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै विस्तृत अनुसन्धान अघि बढाएको छ।
