ललितपुर — ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ज्येष्ठ नागरिकहरूको सम्मान, स्वास्थ्य र हितका लागि महानगरले विभिन्न रचनात्मक तथा प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन्।
पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा आयोजित अन्तर्राष्ट्रिय सिम्पोजियमलाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा ज्येष्ठ नागरिकको मर्यादा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गरे।
महर्जनले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जीवित अवस्थामै रथारोहण, उहाँको नाममा सिक्का र हुलाक टिकट प्रकाशन तथा आवश्यक सुरक्षा र यातायात व्यवस्था गरिएको स्मरण गर्दै यी कार्यहरू ज्येष्ठ नागरिक सम्मानका महत्वपूर्ण कदम भएको बताए।
हालै १०५ वर्षीया मनोमाया महर्जनको पाँचौँ जङ्कु सम्पन्न गरिएको जानकारी दिँदै उनले महानगरले ज्येष्ठ नागरिकलाई वार्षिक १० हजार रुपैयाँ चाडपर्व खर्च प्रदान गर्दै आएको पनि बताए।
त्यस्तै, ६८ वर्ष माथिका ज्येष्ठ नागरिकका लागि निमोनियाविरुद्ध निःशुल्क खोप कार्यक्रम सञ्चालन भइरहेको र भोटो जात्रामा ज्येष्ठ नागरिकलाई विशेष दीर्घा व्यवस्था गरिएको पनि उनले उल्लेख गरे।
