जनध्वनि
इस्लामाबाद — आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नयाँ राहत दिएको छ। आईएमएफले शुक्रबार पाकिस्तानका लागि करिब १.२ अर्ब अमेरिकी डलर बराबरको ऋण किस्ता स्वीकृत गरेको हो।
पीटीआईका अनुसार यो रकम दुई फरक कार्यक्रमअन्तर्गत उपलब्ध हुनेछ। एक्स्टेन्डेड फन्ड फेसिलिटी (ईएफएफ) अन्तर्गत १ अर्ब डलर र रेजिलेन्स एन्ड सस्टेनेबिलिटी फेसिलिटी (आरएसएफ) अन्तर्गत करिब २१ करोड डलर दिने निर्णय गरिएको छ।
यसअघि सन् २०२४ मा आईएमएफले पाकिस्तानलाई ३७ महिनाको अवधिमा ७ अर्ब डलरको सहायता प्याकेज स्वीकृत गरेको थियो। साथै आरएसएफ कार्यक्रममार्फत थप १.४ अर्ब डलर दिने सहमति पनि भइसकेको छ।
नयाँ किस्ता स्वीकृत भएसँगै पाकिस्तानलाई विदेशी मुद्रा सञ्चिती र आर्थिक दबाब व्यवस्थापनमा केही सहज हुने अपेक्षा गरिएको छ।
