२७ वैशाख, धनगढी । नेपाली कांग्रेस का सभापति गगनकुमार थापा ले सुदूरपश्चिम प्रदेश संसदीय दलमा विकसित पछिल्लो घटनाक्रमबारे मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यहरूसँग सघन छलफल गरेका छन् ।
सरकारसँग असन्तुष्ट तथा मन्त्री बन्न नपाएका केही प्रदेशसभा सदस्यहरूले कमलबहादुर शाह लाई पदबाट हटाउनुपर्ने माग गर्दै आएका छन् ।
शुक्रबार प्रदेशस्तरीय भेलापछि सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरु घिमिरे लगायत नेतासहित प्रदेशका सांसद र मन्त्रीहरूसँग रातिसम्म छलफल गरेका थिए ।
छलफलमा असन्तुष्ट सांसदहरूले सरकारको कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै तत्काल मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने माग राखेका छन् ।
मुख्यमन्त्री शाहले बैतडीबाट निर्वाचित शिवराज भट्ट लाई दोस्रोपटक मन्त्री बनाएको विषय पनि उठाइएको थियो । केही सांसदहरूले “कसैलाई पटक–पटक अवसर दिने र कसैलाई कार्यकालभर भूमिका नदिने प्रवृत्ति उचित नभएको” बताएका थिए ।
छलफलको सुरुवातमै मुख्यमन्त्री शाह र प्रदेश मामिला समितिका सभापति दिवानसिंह बिष्ट बीच चर्काचर्की भएको बताइएको छ ।
बिष्टले शाहले गगन थापालाई पार्टी सभापति नमान्ने अभिव्यक्ति दिएको आरोप लगाउँदै आफूले पनि शाहलाई दलको नेता नमान्ने बताएका थिए ।
जवाफमा मुख्यमन्त्री शाहले अदालतको निर्णयपछि आफूले सभापति नमान्ने कुरा नगरेको स्पष्ट पारेका थिए । उनले विशेष महाधिवेशनअघि भने अधिकांश नेता शेरबहादुर देउवा को पक्षमा रहेको स्मरण गराएका थिए ।
केही सांसदहरूले सरकारले योजना किनबेच गरेको, बजेटमा एमालेका मन्त्री हाबी भएको तथा पहुँचका आधारमा बजेट वितरण गरिएको आरोप लगाउँदै मुख्यमन्त्रीसहित मन्त्रीहरू फेर्नुपर्ने माग गरेका थिए ।
तर प्रमुख सचेतक बिक्रम सिंह धामी लगायत केही सांसदहरूले तत्काल मुख्यमन्त्री परिवर्तन गर्दा राजनीतिक समीकरण फेरिन सक्ने र कांग्रेस सरकारबाहिर जान सक्ने जोखिम रहेको बताएका छन् ।
उनीहरूले “मुख्यमन्त्रीभन्दा पहिले मन्त्रीहरू हेरफेर गरेर नयाँलाई अवसर दिनुपर्ने” धारणा राखेका थिए ।
सबै पक्षको कुरा सुनेपछि सभापति थापाले बजेट निर्माण र सरकार सञ्चालनबारे काठमाडौं फर्किएपछि थप मार्गदर्शन दिने बताएका छन् ।
उनले अहिले पार्टीभित्र असन्तुष्टि पोख्नेभन्दा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
थापाले एमालेसँग प्रदेश सरकारको विषयमा संवाद भइरहेको जानकारी दिँदै प्रदेशमा उठेका सबै विषयमा थप छलफलपछि निर्णय लिइने बताएका छन् ।
साथै उनले निवर्तमान सभापति शेरबहादुर देउवा प्रति सम्मान व्यक्त गर्दै पार्टीभित्र छुटेका नेताहरूलाई पनि केन्द्रीय संरचनामा समेट्ने प्रतिबद्धता जनाएका छन् ।
