काठमाडौं । सभामुख डिपी अर्याल ले ड्राइभिङ लाइसेन्सका लागि तोकिएको मापदण्डमाथि प्रश्न उठाएका छन् ।
शुक्रबार आयोजित पूर्वसांसद मञ्चको कार्यक्रममा बोल्दै उनले सवारी चालक अनुमतिपत्रसम्बन्धी नियमहरू व्यवहारिक नभएको टिप्पणी गरे ।
उनले १८ वर्षमै दुईपांग्रे सवारीको लाइसेन्स दिने तर तुलनात्मक रूपमा सुरक्षित मानिने चारपांग्रे सवारीको लाइसेन्स २१ वर्षपछि मात्रै दिने व्यवस्था विरोधाभासपूर्ण रहेको बताए ।
सभामुख अर्यालले लिखित परीक्षामा असफल भएपछि पुनः परीक्षा दिन ९० दिन कुर्नुपर्ने प्रावधानमाथि पनि प्रश्न उठाए । “तीन दिन राम्रोसँग पढेर फेरि परीक्षा दिन्छु भन्न पनि नपाइने कानुन कसरी बन्यो?” उनले भने ।
यस्तै, कतिपय स्थानमा एसएलसी उत्तीर्ण नभएसम्म ड्राइभिङ लाइसेन्स नदिने अभ्यासप्रति पनि उनले असन्तुष्टि जनाए ।
उनले नागरिकको अवस्था, शिक्षा प्रणाली र व्यवहारिकतालाई ध्यानमा राखेर नागरिकमैत्री कानुन बनाउनुपर्नेमा जोड दिए ।
