२७ वैशाख, काठमाडौं । इरान ले होर्मुज स्ट्रेट मा विदेशी जहाजहरूको आवागमन सम्बन्धी नयाँ विधेयकको मस्यौदा तयार पारेको छ ।
प्रस्तावित मस्यौदामा तेहरानले इजरायल र संयुक्त राज्य अमेरिका का जहाजहरूको प्रवेशमा प्रतिबन्ध लगाउने तथा अन्य विदेशी जहाजहरूबाट कर उठाउने व्यवस्था प्रस्ताव गरेको छ । इरानले यसलाई आफ्नो समुद्री सुरक्षा र सार्वभौमिकता सुदृढ गर्ने कदमका रूपमा व्याख्या गरेको छ ।
इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजी ले संसद् पुनः सञ्चालन भएपछि उक्त विधेयकलाई “निवारक कानुन” का रूपमा अघि बढाइने बताएका छन् ।
उनले विदेश मन्त्रालय, बन्दरगाह तथा समुद्री संगठनलगायत सम्बन्धित निकायहरूसँग छलफल गरेर मस्यौदा तयार गरिएको जानकारी दिएका छन् ।
अजिजीका अनुसार इरान सधैं होर्मुज स्ट्रेटमा सुरक्षित र स्वतन्त्र जलयातायातको पक्षमा रहेको छ । तर उनले अमेरिकी सैन्य उपस्थिति र इजरायली गतिविधिलाई क्षेत्रीय अस्थिरताको मुख्य कारण भएको आरोप लगाए ।
उनले “स्ट्रेट अफ होर्मुजमा इरानको सार्वभौमिकता बलियो बनाउने उद्देश्यले” विधेयक ल्याइएको बताएका छन् ।
यसैबीच, फार्स न्युज एजेन्सी का अनुसार शुक्रबार होर्मुज स्ट्रेट क्षेत्रमा इरानी र अमेरिकी सेनाबीच छिटपुट झडपसमेत भएको जनाइएको छ ।
