हंगेरीको राजनीतिमा लामो समयदेखि कायम रहेको सत्ताको समीकरण उल्ट्याउँदै ‘तिस्जा पार्टी’ का नेता पिटर माग्यार देशको नयाँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ। शनिबार बसेको नवनिर्वाचित संसद (नेसनल एसेम्बली) को पहिलो बैठकले माग्यारलाई भारी बहुमतका साथ कार्यकारी प्रमुखको रूपमा चयन गरेको हो। संसदका कुल १९९ सदस्यमध्ये १९५ जना उपस्थित रहेको मतदान प्रक्रियामा माग्यारको पक्षमा १४० मत परेको थियो भने विपक्षमा ५४ मत दर्ता भयो। एक सदस्य भने तटस्थ रहेका थिए। आवश्यक बहुमत प्राप्त गरेसँगै माग्यारले आधिकारिक रूपमा आफ्नो चार वर्षे कार्यकालको कार्यभार सम्हाल्नुभएको छ।
प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेपछि संसदलाई सम्बोधन गर्दै माग्यारले आफ्नो कार्यकाल केवल सत्ताको हेरफेरमा मात्र सीमित नहुने स्पष्ट पार्नुभयो। उहाँले नयाँ सरकारले सत्ता परिवर्तनको मात्र नभई समग्र ‘प्रणाली नै परिवर्तन’ गर्ने जनादेश पाएको बताउँदै अबको प्रशासनले जनतामाथि शासन गर्नुको सट्टा सेवक बनेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। सम्बोधनका क्रममा उहाँले राष्ट्रिय मेलमिलाप, लोकतान्त्रिक पुनर्जागरण र राष्ट्रिय एकतालाई आफ्नो मुख्य प्राथमिकतामा राख्ने उल्लेख गर्नुभएको छ।
यसै वर्षको अप्रिल १२ मा सम्पन्न संसदीय निर्वाचनमा माग्यार नेतृत्वको तिस्जा पार्टीले तत्कालीन प्रधानमन्त्री भिक्टर ओर्बानको सत्तारूढ फिडेज–केडीएनपी गठबन्धनलाई स्तब्ध पार्दै ठूलो मतान्तरले पराजित गरेको थियो। उक्त निर्वाचनमा १९९ सिटमध्ये १४१ सिट जित्दै माग्यारको पार्टीले संसदमा शक्तिशाली दुई-तिहाइ बहुमत सुनिश्चित गरेको थियो, जसले उहाँलाई देशको संरचनामा व्यापक सुधार गर्ने बलियो जनादेश दिएको छ।
सन् १९८१ मार्चमा जन्मिनुभएका माग्यारले पाजमानी पिटर क्याथोलिक विश्वविद्यालयबाट कानुन र मानविकीमा उच्च शिक्षा हासिल गर्नुभएको छ। उहाँले यसअघि प्रशिक्षार्थी न्यायाधीश, अधिवक्ताका साथै परराष्ट्र मन्त्रालय र विभिन्न सरकारी निकायहरूमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको अनुभव छ। सन् २०२४ मा तिस्जा पार्टीको नेता र युरोपेली संसदको सदस्यका रूपमा निर्वाचित भएसँगै उहाँको राजनीतिक उचाइ चुलिएको थियो।
माग्यार प्रधानमन्त्री निर्वाचित भएपछि बुडापेस्टस्थित संसद भवन अगाडिको कोसुथ स्क्वायरमा हजारौँ समर्थकहरूले खुसियाली मनाएका छन्। सो अवसरमा संक्षिप्त सम्बोधन गर्दै उहाँले हंगेरीको उज्ज्वल भविष्यका लागि आशा र एकताको आह्वान गर्नुभयो। ओर्बानको लामो शासनपछि आएको यो राजनीतिक परिवर्तनलाई हंगेरीको लोकतान्त्रिक इतिहासमा नयाँ अध्यायको रूपमा हेरिएको छ।
