इथियोपियाको राजधानी अदिस अबाबामा पहिलो पटक आयोजना गरिएको ‘अफ्रिकी सामाजिक सञ्जाल इन्फ्लुएन्सर शिखर सम्मेलन’ ले अफ्रिका महाद्वीपको वास्तविक, मौलिक र सकारात्मक चित्रण विश्वसामु पुर्याउन डिजिटल कूटनीतिको प्रभावकारी प्रयोग गर्नुपर्ने निष्कर्ष निकालेको छ । ’राम्रो अफ्रिकाका लागि प्रभाव’ भन्ने मूल नाराका साथ शुक्रबारदेखि सुरु भएको यस विशेष सम्मेलनमा ३० भन्दा बढी अफ्रिकी मुलुकका प्रख्यात कन्टेन्ट क्रियटर (सामग्री निर्माता) र सञ्चार रणनीतिज्ञहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
सम्मेलनलाई सम्बोधन गर्दै इथियोपियाली समाचार एजेन्सीका प्रमुख कार्यकारी अधिकृत सेइफ डेरिबेले अफ्रिकाका बारेमा अन्तर्राष्ट्रिय जगतमा फैलिएका गलत सूचना र पुराना रुढिवादी धारणाहरूलाई चिर्न सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरूले नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले सामाजिक सञ्जालका सामग्रीहरू समाजमा विभाजन ल्याउने खालका नभई समुदाय निर्माण गर्ने र युवाहरूमा नयाँ आशा एवं अवसरको सञ्चार गर्ने खालका हुनुपर्नेमा विशेष जोड दिनुभयो । डेरिबेले अफ्रिकी सम्पदा, संस्कृति र नवप्रवर्तनको प्रवद्र्धन गर्दै महिलाहरूको मर्यादा रक्षा र नेतृत्वको सम्मान गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो । उहाँले डिजिटल माध्यमलाई द्वन्द्वको सट्टा शान्ति र ध्रुवीकरणको सट्टा एकताको सूत्रमा बाँध्ने औजारका रूपमा प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
यसैगरी, घानाका प्रख्यात युट्युबर तथा कन्टेन्ट क्रियटर वोडे मायाले अफ्रिकाको बारेमा बाहिरी संसारले बनाइदिएको भाष्यलाई चुनौती दिँदै अफ्रिकीहरूले आफ्ना कथा आफैं भन्नुपर्ने र आफ्नै भोगाइहरू विश्वमाझ पुर्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो । अफ्रिकी पहिचानलाई विश्वस्तरमा चिनाउन आफ्नै मौलिक सामग्रीको निर्माण नै सबैभन्दा बलियो माध्यम हुने उहाँको भनाइ थियो ।
सम्मेलनमा प्रश्तुत गरिएको एक महत्वपूर्ण तथ्याङ्कअनुसार, गैर–अफ्रिकीहरूले निर्माण गरेको गलत भाष्य, नकारात्मक चित्रण र भ्रमपूर्ण प्रचारका कारण अफ्रिकाले वार्षिक रूपमा करिब ४.२ अर्ब अमेरिकी डलर बराबरको ठूलो आर्थिक क्षति बेहोर्नु परिरहेको छ । यसले अफ्रिकाको पर्यटन, लगानी र अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर असर पुर्याइरहेको सहभागीहरूले बताएका छन् । विश्वभरका ४० करोडभन्दा बढी दर्शकमाझ अफ्रिकाको सही सन्देश पुर्याउने लक्ष्य राखिएको यस शिखर सम्मेलनले डिजिटल उद्यमशीलता, ज्ञान आदानप्रदान र अन्तर–अफ्रिकी साझेदारीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
